चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ७१८ पटक पढिएको

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

जेठ २२, काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

अाज (बिहीबार) बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि विगत ६ महिनादेखी बोर्ड नेतृत्वविहिन भएको थियो ।

बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।

मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो। मन्त्री परिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठह-याउँदै नियुक्त गर्ने निर्णय गरेको हो। चलचित्र विकास बोर्डको अध्यक्षमा २ वर्षका लागि उनी नियुक्त भएका हुन् ।

काे हुन् दयाराम दाहाल ?

काभ्रे नालाका निर्देशक दयाराम दाहाल २०४५ सालमा निर्मित फिल्म ‘लाहुरे’ को पोस्ट प्रोडक्सनमार्फत् फिल्म क्षेत्रमा भित्रिएका थिए । फिल्म ‘दाइजो’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । नेपाली फिल्ममा सफल निर्देशकको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

दशक अगाडि निर्देशक दाहालले निर्देशन गरेका प्रायः फिल्मले हलमा ५१औं र १००औं दिन मनाउन सफल छन् । विवादरहित फिल्मकर्मीको रुपमा चिनिने उनको पछिल्लो रिलिज फिल्म ‘रानी’ हो भने प्रदर्शनको पखाईमा फिल्म ‘लैबरी लै’ रहेको छ । उनले ‘दौँतरी’, ‘ठुल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमी विना मरिहाल्छु’, ‘दैव’ लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन् ।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय दाहालमा कलाकारिताप्रति सानैदेखि लगाव थियो । उनी निर्देशनमा होमिनुभन्दा अगाडि २०४१ तिर रेडियोमा गीत गाउन, नाटक गर्न जाने गर्दथे । जन्मथलो काभ्रेबाट धाएरै उनले रेडियो नेपालको चौतारी, बाल कार्यक्रममा गीत समेत गाउँदथे । ०४३ सालमा एसएलसी पास गरेर काठमाडौं छिरेपछि भने उनलाई निर्देशनतर्फ रुचि बढेको थियो ।


प्रतिक्रिया दिनुहोस