भारतीय कलाकार सुशान्त राजपुतले गरे आत्महत्या

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ५०२ पटक पढिएको
भारतीय कलाकार सुशान्त राजपुतले गरे आत्महत्या

जेठ ३२, काठमाडौं । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।

अभिनेता सुशान्तसिंह राजपुत ६ महिनायता डिप्रेसनमा रहेको मुम्बई प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमका समाचारहरुमा जनाइएअनुसार ३४ वर्षीय यी कलाकार गए राति साथीहरुसँग थिए।

घटनास्थलमा कुनै सुसाइड नोट नभेटिए पनि सुशान्तले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ।

सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो ।

सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए । टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए ।

उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस