क्वारेन्टिनमा बसेकाहरु आन्दोलित, ‘की हामीलाई रिपोर्ट देउ, की घर जान देउ’

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ६५६ पटक पढिएको

क्वारेन्टिनमा बसेकाहरु आन्दोलित, ‘की हामीलाई रिपोर्ट देउ, की घर जान देउ’

असार ९, दाङ । क्वारेन्टिनमा बसेको महिना दिन र स्वाब संकन गरेको आधा महिना बित्न थाल्यो । तर रिपोर्ट आएको छैन । स्वाब परीक्षणमा ढिलाई भएपछि क्वारेन्टिनमा बसेकाहरु नै आन्दोलनमा उत्रेका छन्।

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै पुगेर नारा–जुलुस गरेका छन् ।

घोराही उपमनगरपालिका–१८ स्थीत रझेनामा माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेकाहरु स्वाब संकलन गरेको दुई हप्ता बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै सोमबार साँझ करिब ६ बजेतिर आन्दोलन गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटसम्म पुगेका थिए ।

प्रतिष्ठानको गेटमा पुगेका उनीहरुले कोरोना परीक्षणको रिपोर्ट दिन ढिलाई गरेको भन्दै नाराबाजी गरेका थिए । भारतबाट फर्किएको महिना दिन भन्दा बढी समय क्वारेन्टिनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

रझेना स्थित क्वारेन्टिनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वारेन्टिनमा पठाएको समेत उनले बताए । ‘क्वारेन्टिनबाट स्वाब संकलन गरेको दुई हप्ता बढी समय भइसक्दा पनि रिपोर्ट नआएपछि रझेना क्वारेन्टिनमा बसेकाहरु रिपोर्ट खोज्दै प्रतिष्ठानसम्म आएका रहेछन्’, प्रहरी नायव उपरीक्षक खड्काले भने, ‘प्रतिष्ठानको गेटमा जम्मा भएका उनीहरुलाई प्रहरीले पुनः क्वारेन्टिनमा पठाएको छ ।’

आन्दोलनमा उत्रिएका उनीहरुले ‘की हामीलाई रिपोर्ट दे, की घर जान दे’, ‘मान्छेलाई पशु सरह व्यवहार नगर’, ‘क्वारेन्टाइनलाई व्यवस्थित गर’, ‘समस्या समाधानका लागि वडा अध्यक्ष पहल गर’ भन्दै नारा लगाए । तर घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतमणि अर्यालले उनीहरु आन्दोलन गर्न नभई रिपोर्ट परीक्षण किन ढिलाई भएको छ भनेर बुझ्न गएको बताए ।

क्वारेन्टाइनमा आफूले सम्झाई बुझाई गरे पनि उनीहरु नमानेर प्रतिष्ठान गएको वडा अध्यक्ष अर्यालले बताए । ‘क्वारेन्टिनमा बसेको महिना दिन पूरा भएको र स्वाब संकलन गरेको पनि दुई हप्ता बढी भैसक्दा पनि रिपोर्ट नआएपछि हामी बुझ्न जाने भनेर प्रतिष्ठान गएका हुन्’ वडाध्यक्ष अर्यालले भने, ‘क्वारेन्टिनमा बसेकाहरु समयमै रिपोर्ट नआउँदा आक्रोसित भएका छन्, मैले नजानुहोस् भन्दा पनि मानेनन् ।’

आक्रोसित उनीहरुलाई सम्झाउँदा समेत नमानेको उनले बताए । तर वडध्यक्ष अर्यालले अहिले उनीहरु फर्किएर क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । प्रतिष्ठानमा अझै परीक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वाबहरु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् । प्रतिष्ठानमा दुईवटा पीसीआर मेसिन सञ्चालनमा आएपनि ल्याबमा काम गर्ने जनशक्ति बिरामी भएको हुँदा कोरोना परीक्षणमा ढिलाई भएको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस