शीतलनिवाशको भेटपछि बालुवाटारमा निर्णायक वार्ता सुरु

नौलो समाचार संवाददाता
२०७७ अषाढ २१, आईतबार मा प्रकाशित ५१० पटक पढिएको

शीतलनिवाशको भेटपछि बालुवाटारमा निर्णायक वार्ता सुरु

असार २१, काठमाडौं । नेकपाभित्रको चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटारमा निर्णायक वार्तामा बसेका छन् ।

बालुवाटारमा बसेको छलफलमा प्रचण्डका तर्फबाट २ र प्रधानमन्त्री ओलीका तर्फबाट ३ जना नेता बसेका छन् । प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल बसेका छन् । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्धन शर्मा छन् ।

एकताको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता हुनुअघि तीनजना शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए। पार्टीको आन्तरिक झगडमा राष्ट्रपतिसमेत तानिएको अवस्थामा तीन शीर्ष नेताहरूसँगको सामूहिक भेटलाई अर्थपूर्ण रुपमा लिइएको थियो।

प्रधानमन्‍त्रीले शनिबार अपरान्ह मन्‍त्रीहरुलाई बालुवाटार बोलाएर आफ्नो लाइन क्लियर गर्न र आफूलाई साथ नदिने मन्‍त्रीहरुलाई बाहिरिन आग्रह गरेपछि आन्तरिक विवादले थप गम्भीर मोड लिएको हो। ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको प्रचार गरेपछि राष्ट्रपतिसमेत पार्टी विवादमा मुछिएकी छिन्।

असन्तुष्ट पक्षले हुँदै नभएको विषय उचालेर राष्ट्रपतिलाई जबरजस्ती पार्टी झगडामा तानेको आरोप लगाएका छन्।  बाहिरको आलोचना र पार्टीभित्रबाट घेराबन्दीमा परेका ओलीले राष्ट्रपतिलाई समेत प्रभावमा लिएर केही कदम चाल्‍नसक्ने अनुमान र आशंका गरिएका छन्।


प्रतिक्रिया दिनुहोस