मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षणका लागि पानी पठाइयाे, छिट्टै उद्घाटन गरेर पानी वितरण गर्छौ: मन्त्री विना मगर

नौलो समाचार संवाददाता
२०७७ अषाढ २१, आईतबार मा प्रकाशित ४८५ पटक पढिएको
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षणका लागि पानी पठाइयाे, छिट्टै उद्घाटन गरेर पानी वितरण गर्छौ: मन्त्री विना मगर

असार २१, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची उद्घाटन टाढा नभएको बताएकी छन्।

आइतबार पत्रकार सम्मेलन गरी अन्तिम चरणमा काम भैरहेकाले छिट्टै उद्घाटन गरेर राजधानीवासीलाई पानी वितरण गर्ने मन्त्री मगरले बताइन्।

उनको विभिन्न उतारचढाव र समस्याहरु खेपेर प्राविधिक रुपमा चुनौतीपूर्ण बनेको आयोजना पूरा हुन लागेको दाबी छ।

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले दुइ दशक लामो मेलम्ची सपना यर्थाथमा परिणत हुन लागेको बताए। परीक्षणको लागि आवश्यक तयारी गरेर सुरु गरेसंगै आयोजना नयाँ चरणमा  प्रवेश गरेको उनको भनाइ छ।

आज बिहान ९:४५ बजे मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षणका लागि पानी पठाइएको हो। जिरो चेनेजबाट अस्थायी हेडवर्क्स हुँदै पानी सुरुङमार्गतिर पथान्तरण गरिएको हो। अम्वाथान अर्था सुरुङमार्गको पहिलो अडिटसम्मको करिव ८ सय मिटर परिक्षण गरिएको हो। अम्वाथान अडिटबाट पुन पानी मेलम्ची खोलामा नै फर्काइएको छ। सोमबार सुरुङमार्गतिर पानी पथान्तरण गरिने बताइएको छ।

सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिदैँछ। सुरुङको सुरक्षा तथा संचालनका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाह गरिएको हो।

यसरी पानी प्रवाह गर्दा सुरुङमार्ग भरिन १५ देखि २० लाग्ने अनुमान गरिएको छ।पूर्ण भरिएको सुरुङलाइ १० दिन यथास्थितिमा राखिने छ।

त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिदा पुन १० देखि २० दिन लाग्नेछ।

सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परिक्षण गर्न करिव सात दिने लाग्नेछ। त्यसपछि कुनै समस्या नदेखिएमा आवश्यकता अनुसार  तिनको समाधान गरिने खानेपानी मन्त्रालय जनाएको छ। त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुनेछ।

करिव दुई महिना लगाएर परिक्षण सकेपछि नियमति रुपमा मेलम्चीबाट सुन्दरीजल पानी पठाउन सकिने आयोजना प्रमुख खत्रीले बताए। अहिले अस्थायी संरचनाबाट पानी ल्याउन लागिएको हो। स्थायी संरचना बनेपछि त्यसैबाट ल्याइनेछ। स्थायी हेडवर्क्स निर्माण भैरहेको छ। जसको ७० प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ। स्थायी संरचना माघसम्म तयार हुने खत्रीले बताए।

इटालियन कम्पनी सिएमसीले छाडेर गएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले निर्माणको काम गरिरहेको छ। जसले सुरुङमार्ग फिनिसिङ दशैंसम्म सक्ने गरी ठेक्का पाएको थियो।

प्रतिक्रिया दिनुहोस