सांसद सरिता गिरि पार्टीबाट निष्काशित, सांसद पद गयो

नौलो समाचार संवाददाता
२०७७ अषाढ २३, मंगलबार मा प्रकाशित १००० पटक पढिएको
सांसद सरिता गिरि पार्टीबाट निष्काशित, सांसद पद गयो

असार २३, काठमाडौं । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो ।

समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो ।

पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताउनुभयो ।

जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो ।

यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस