सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी–पहिरोबाट भएको क्षतिप्रति सभामुख सापकोटाद्वारा दुःख व्यक्त

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ६६५ पटक पढिएको
सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी–पहिरोबाट भएको क्षतिप्रति सभामुख सापकोटाद्वारा दुःख व्यक्त

असार २५, सिन्धुपाल्चोक । सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताउनुभएको हो ।

सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्नेछ भन्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस