अयाेध्या प्रकरण : प्रधानमन्त्रीकाे टिप्पणीप्रति परराष्ट्रद्वारा बचाउ

नौलो समाचार संवाददाता
२०७७ अषाढ ३१, बुधबार मा प्रकाशित १४८५ पटक पढिएको

अयाेध्या प्रकरण : प्रधानमन्त्रीकाे टिप्पणीप्रति परराष्ट्रद्वारा बचाउ

असार ३१, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा सोमबार दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अयोध्या र रामको जन्मभूमिबारेमा दिनुभएको अभिव्यक्ति सम्बन्धमा मन्त्रालयले मङ्गलबार विज्ञप्ति निकाल्दै केही कुरा स्पष्ट पार्न चाहेको बताएको हो ।

प्रधानमन्त्रीले दिनुभएको टिप्पणी कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको आस्था र भावनामा चोट पुर्‍याउनेतर्फ इङ्गित नभएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

‘राम र रामको जन्मभूमिलाई लिएर धेरै मिथक र सन्दर्भ भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्त्वमाथि मात्र जोड दिनुभएको हो’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीले अयोध्याको विशेषता र सांस्कृतिक मूल्य मान्यतालाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयको दाबी छ ।

विवाह पञ्चमी समारोहमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुर जन्ती आउने परम्परा रहेकोबारे पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गरेर जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्त्वपूर्ण कदम भएको बताइएको छ । ‘यो तथ्यले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सङ्केत गर्छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस