लकडाउन अन्त्य भएको सरकारकाे घोषणा, मुख्य क्षेत्र भने भदौसम्म बन्द यथावत्

नौलो समाचार संवाददाता
२०७७ श्रावण ६, मंगलबार मा प्रकाशित १२१० पटक पढिएको

लकडाउन अन्त्य भएको सरकारकाे घोषणा, मुख्य क्षेत्र भने भदौसम्म बन्द यथावत्

साउन ६, काठमाडौँ। सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लक डाउन अन्त्य भएको घोषणा गरेको छ।

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिएको छ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य भएको बताए पनि होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि, सीमा प्रतिबन्ध साउन ३२ गतेसम्म बन्द रहने जानकारी दिएका छन्।

त्यस्तै शैक्षिक संस्थाले भदौ १ गतेदेखि भर्ना र परीक्षा मात्र सञ्चालन गर्न पाउने, पठन पाठनबारे पछि निर्णय हुने भनिएको छ भने लामो दूरीका सार्वजनिक यातायात पनि भदौ १ गतेदेखि खुल्ने सरकारले जनाएको छ।

एकातिर लकडाउन अन्त्य भएको घोषणा गर्ने अर्कोतिर मुख्य क्षेत्र भदौ लागेपछि मात्र खुला हुने सरकारको निर्णयले द्वैध मान्यता देखाएको छ।

मुख्य क्षेत्र भदौ लागेपछि खुल्ने भने पनि लक डाउन अन्त्य भएको घोषणा सरकारले गर्नुका पछाडि राजश्व संकलनसँग प्रत्यक्ष जोडिएको स्रोतको दाबी छ। सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र भ्याट, अन्तशुल्क, आयकर उठाउन सरकारलाई आदेश दिएको छ।

सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मानेर कर प्रशासनमा समेत यस्तो आदेश दिएपछि ढुकुटीमा जम्मा हुनु पर्ने ५२ अर्ब रुपैयाँभन्दा बढी रोकिएको छ।


प्रतिक्रिया दिनुहोस