काठमाण्डाैं उपत्यकामा १५ र वीरगञ्जमा ३४ जना सहित थप २१० जनामा कोरोना संक्रमण

१४६ जना डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७७ श्रावण १४, बुधबार मा प्रकाशित ८४५ पटक पढिएको
काठमाण्डाैं उपत्यकामा १५ र वीरगञ्जमा ३४ जना सहित थप २१० जनामा कोरोना संक्रमण

साउन १४, काठमाडौं। देशभरिमा थप २१० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण जानकारी दिएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,२७३ पुगेको छ।

अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १४६ जना निको भएसँगै अहिलेसम्म १४,०२१ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३६० व्यक्ति देशभरि आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा ४८९ सङ्क्रमित

काठमाण्डू उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाहरुको सङ्ख्या ४८९ जना पुगेको छ।

बुधवार उपत्यकाका तीन जिल्लामा १५ जना र मङ्गलवार ५३ जना नयाँ सङ्क्रमित देखिएका थिए।

यसरी सङ्क्रमित हुनेहरूमा काठमाण्डूमा दुई भारतीय र एक चिनियाँ नागरिक सहित ३४९ जना, ललितपुरमा ८९ जना र भक्तपुरमा ५१ जना छन।

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मङ्गलवारसम्म १६३ जना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

वीरगञ्जमा ३४ जना थपिए

पर्साको वीरगञ्जमा सेना, प्रहरी, कारागार कर्मचारी र कैदीबन्दी गरी थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन्।

नयाँ पुष्टि भएका सङ्क्रमितहरू दुई वर्षको बालकसहित पाँच जना बालबालिका र १० जना महिला रहेको उनले बताए।

स्वेच्छाले पीसीआर परीक्षण गराएका व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. उपाध्यायले बताए।

पचास शैय्या क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा सङ्क्रमितको सङ्ख्या बढेपछि व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ।

यसैबीच पर्साको ग्रामीण भेगको पर्सागढी नगरपालिकामा छ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि ग्रामीण भेगका स्वास्थ्यचौकीहरू बन्द भएका छन्।


प्रतिक्रिया दिनुहोस