ललितपुरमा ३ र बुटवलमा २ सहित ५ जना कोरोना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ श्रावण २८, बुधबार मा प्रकाशित ५६३ पटक पढिएको
ललितपुरमा ३ र बुटवलमा २ सहित ५ जना कोरोना संक्रमितको मृत्यु

साउन २८, काठमाडौँ। ललितपुरका पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालका अनुसार पाटनमा जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो।

ती पुरुष पुरानो निमोनियाका बिरामी भएको र गत महिना अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान मृत्यु भएको हो।

त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृत्यु भएको छ। टेकुबाट रिफर गरेर पाटन अस्पताल पुर्‍याएकी ७८ वर्षिया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो। उनलाई २६ गते पाटन अस्पतालले किस्ट पठाएको हो।

बुटवलमा दुई जनाको मृत्यु 

यस्तै, बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको छ। कपिलवस्तुका दुई पुरुषको भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस