धुलिखेल अस्पतालका १ सय २० स्वास्थ्यकर्मी क्वारेन्टिनमा, आकस्मिक बाहेक सबै सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३५८ पटक पढिएको
धुलिखेल अस्पतालका १ सय २० स्वास्थ्यकर्मी क्वारेन्टिनमा, आकस्मिक बाहेक सबै सेवा बन्द

साउन २९, काभ्रे। धुलिखेल अस्पतालले आफ्ना १२० जना डाक्टर र स्वास्थ्यकर्मीलाई क्वारेन्टिन (एकान्तबास)मा राखेको छ । तीनदिनको बीचमा उपचारमा संलग्न १ जना स्वास्थ्यकर्मी सहित ४ जना उपचारका लागि आएको बिरामीमा समेत कोरोना संक्रमित पुष्टि भएपछि अस्पताल ती डाक्टर र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेको हो ।

धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना भाईरस संक्रमण देखिएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि अस्पतालमा इमरजेन्सी बाहेकको सेवा बन्द भएको छ ।

अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुद्धारा हस्ताक्षरित विज्ञप्तीमा केहि दिन देखि लगातार धुलिखेल अस्पतालमा उपचार गराईरहेका ४ जना सर्वसाधारण र एक जना उपचारमा संलग्न स्वास्थयकर्मीमा कोरोना पोजेटिभ देखाएपछि अस्पतालमा कार्यरत १ सय २० भन्दा बढि स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नुपर्ने भएकोले आकस्मिक बाहेक सबै सेवा बन्द भएको जनाएको छ ।

धुलिखेल नगरपालिकामा अत्यावश्यक बाहेक सेवा बन्द

धुलिखेल नगरपालिकाका मुख्य बजारहरुमा कोरोना संक्रमित देखिएको भन्दै धुलिखेल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकामा कोरोना संक्रमण देखिएकोले साउन ३० गते बाट भाद्र ५ गते सम्म नगरको अत्यावश्यक बाहेक सेवा बन्द गरेको जनाएको छ ।

त्यस्तै धुलिखेल अस्पताल बाहिर होटल व्यवसायीलाई कोरोना पोजेटिभ देखाएपछि त्यसको २०० मिटर वरपर शिल गरेको समेत धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस