गाउँमा संक्रमित भेटिएपछि दोलखाको सिंगटीबजार बन्द

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४४७ पटक पढिएको
गाउँमा संक्रमित भेटिएपछि दोलखाको सिंगटीबजार बन्द

साउन ३०, दोलखा। छिमेकी २ गाउँपालिकामा ३ जना कोरोना संक्रमित भेटिएपछि उत्तरी दोलखाको मुख्य व्यापारिक केन्द्र सिंगटीबजार बन्द गरिएको छ । कालिञ्चोक गाउँपालिकामा एक र गौरीशंकर गाउँपालिकामा २ जना गरी कूल ३ जनामा कोरोना भाइरस संक्रमित भेटिए पछि दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाले शुक्रबार एक विज्ञप्ती जारी गरी सिंगटीबजार बन्द गरिएको हो ।

छिमेकी दुई गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि सिंगटीबजार उच्च जोखिममा परेकोले अत्यावश्यक सेवा बाहेक बन्द गर्न अनुरोध गरेको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठले बताए ।

दुईवटै गाउँपालिकाको मुख्य बजार सिंगटी भएको र संक्रमितसँग सम्पर्क भएका व्यक्ति बजार आउन सक्ने भएकाले पूर्वसावधानीका लागि बजार बन्द गर्न बाध्य भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कालिन्चोक गाउँपालिका-३, लामिडाँडामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा बिहीबार कोरोना संक्रमण देखिएको थियो । मंगलबार मात्र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेको एक र गाउँपालिकाका एक कर्मचारी गरी गौरीशंकर गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म जिल्लाका ५३२ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये ३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस