कोरोना नेपाल: थपिए ८५५ सङ्क्रमित, ७ जनाको मृत्यु

काठमाडाैँ उपत्यकामा २३२ थपिए
नौलो समाचार संवाददाता
२०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४१४ पटक पढिएको
कोरोना नेपाल: थपिए ८५५ सङ्क्रमित, ७ जनाको मृत्यु

भदौ ८, काठमाडौं। नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाडाैँ उपत्यकाका छन्।

यो वृद्धिसँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ।

अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए।

तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। कुल निको हुनेको सङ्ख्या १९,११९ जना छ।

देशभरि क्वारन्टीनमा १०,४५३ जना छन्।


प्रतिक्रिया दिनुहोस