कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, संक्रमणबाट ६०० जनाको मृत्यु, दसैंमा हिडडुल नगर्न आग्रह

नौलो समाचार संवाददाता
२०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ५८३ पटक पढिएको
कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, संक्रमणबाट ६०० जनाको मृत्यु, दसैंमा हिडडुल नगर्न आग्रह

असोज २३, काठमाडौं। देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २०५९ जनामा संक्रमित पुष्टि भएसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या एक लाख ६७६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् भने ७३ हजार २३ जना संक्रमणमुक्त भइसकेका छन्। कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६०० जना पुगेको छ।

नेपालमा पहिलोपटक माघ ९ मा संक्रमण देखिएको थियो। दोस्रो व्यक्तिलाई संक्रमण देखिन दुई महिना अर्थात चैत १० मा संक्रमण पुष्टि भएको थियो। त्यसयताका ८ महिनामा नेपालमा संक्रमितको संख्या लाख नाघेको हो। चैत ११ गतेदेखि गरिएको चार महिने लकडाउनमा संक्रमित खासै नबढे पनि लकडाउन खुलपछि भने ह्वातै संक्रमित बढेका थिए।

तराइका जिल्ला हुदै काठमाडौं उपत्यकामा फैलिएको संक्रमणले हाल काठमाडौं उपत्यका संक्रमणको केन्द्र बनेको छ। दैनिक थपिने संक्रमित संख्यामा अधिकांश काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले दशैं तिहारमा संक्रमण उच्च गतिमा बढ्ने भन्दै हिँडडुल नगर्न अनुरोध गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस