२ लाखसम्म धरौटी नराखे धुलिखेल अस्पतालले संक्रमितकाे उपचार नगर्ने

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ११०२ पटक पढिएको
२ लाखसम्म धरौटी नराखे धुलिखेल अस्पतालले संक्रमितकाे उपचार नगर्ने

कात्तिक ५, काभ्रे। काभ्रेको धुलिखेल अस्पतालले २ लाखसम्म धराैटी जम्मा नगरे काेराेना संक्रमित नगर्ने भएको छ।

सामुदायिक अस्पतालकाे रूपमा चिनिने धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ ।

अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ ।

अस्पतालले सामान्य लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि खुलाएको छ ।

अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्नेछ । यही रकमले अस्पतालले खाना खुवाउनेछ ।

सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।

यसै अनुसार उपचार अघि बढाउन अस्पतालहरुलाई पत्राचार पनि गरेको छ । सरकारको निर्णयसँगै अस्पतालमा कोरोना संक्रमितसँग रकम माग्न थालिएको छ ।

अस्पतालले जााी गरेको सूचना


प्रतिक्रिया दिनुहोस