प्यानल हारेको झोकमा हत्या, बझाङ सदरमुकाम तनावग्रस्त

नौलो समाचार संवाददाता
२०७७ माघ १४, बुधबार मा प्रकाशित ६२९ पटक पढिएको

प्यानल हारेको झोकमा हत्या, बझाङ सदरमुकाम तनावग्रस्त

माघ १४, बझाङ। बझाङमा विद्यालय व्यवस्थापन समितिमा आफ्नो प्यानल हारेको झोकमा एकजनाको खुडा प्रहार गरी हत्या गरिएको छ। बझाङको छविस पाथिभेरा गाउँपालिका ३ का २३ वर्षीय अमृत सिंहको हत्या गरिएको हो । उनको घाँटीमा खुडा प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ।

मंगलबार जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ मा रहेको बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । दिनभरी नेकपा र कांग्रेसका छुट्टाछुट्टै प्यानलबीच चुनाव भयो । बेलुकी मतगणना सकिएपछि कांग्रेस निकटको प्यानलले जितेको घोषणा भयो । त्यसको केही बेरपछि बेलुकी ७ बजेतिर सोही ठाउँका अमृत सिंहको हत्या भएको हो ।

विद्यालय व्यवस्थापन समितिमा नेपाली कांग्रेसबाट लोकेन्द्रबहादुर रोकायाको प्यानल र नेकपाबाट गजेन्द्र बहादुर धामीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । यस्तै शिक्षक अभिभावक संघका लागि कांग्रेसका सुरेश रोकाया र नेकपाका कल्याण बोहराबीच प्रतिस्पर्धा भएको थियो ।

चुनावपछि विद्यालय व्यवस्थापन समितिमा कांग्रेसका लोकेन्द्रबहादुर रोकायाको प्यानल र शिक्षक अभिभावक संघमा पनि कांग्रेसका सुरेश रोकायाले जितेका थिए । ‘कांग्रेसको प्यानल जितेको भन्दै चुनाव सकिएपछि खुडा प्रहार गरी हत्या गरिएको छ, ‘ मृतकका आफन्त सचिन सिहले भने ।

मृतक अमृत सिंहको घाँटीमा खुडा हानिएको र उनको घाँटी २ इन्च मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छविस पाथिभेरा गाउँपालिकाका २ का वडा अध्यक्ष विकास अयडी, उनका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतलाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकलसहित वडाअध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राती पक्राउ गरेको थियो भने ज्ञानबहादुर कठायत, मंगलबार नै घटनास्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकाश अयडी र केदार कठायतलाई बुधबार थलारा गाउँपालिका ३ को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

मृतकका आफन्तले अर्को वडाबाट आएका व्यक्तिहरुले हत्या गरेको आरोप लगाएका छन । ‘विद्यालय जस्तो पवित्र संस्थाको चुनावमा अर्को वडाबाट आएर प्रचार प्रसार र गुण्डागर्दी गरिएको थियो, मतगणनाका बेला पनि वडा अध्यक्ष विकास अयडीले विवाद गरेका थिए,’ मृतकका आफन्त सचिन सिँहले भने ।

घटनास्थलबाट वडाअध्यक्ष विकास अयडीको से १ प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी बरामद भएकाले प्रहरीले उनलाई पनि पक्राउ गरिएको जनाएको छ । प्रहरीले हत्यामा वडा अध्यक्षका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतको संलग्नता खुलेको जनाएको छ ।

मृतक अमृत सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन । उनको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । बुधबार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ सहित काँग्रेसका भातृसंगठनहरुले चैनपुर बजारमा प्रदर्शन गरे ।

उनीहरुले टायर बाल्दै नाराबाजी गरेका छन भने चैनपुरको यातायात र बजार समेत बन्द गराएका छन् । पीडित परिवारले हत्याका आरोपीहरुलाई कडा कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् । नेपाली कांग्रसका पूर्व पार्टीसभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा भएको हत्यामा, संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुनसक्छ, अपराधीलाई कडा कारवाही हुनुपर्छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस