प्रचण्ड-नेपालको आमहड्ताल : सबै व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने

नौलो समाचार संवाददाता
२०७७ माघ २१, बुधबार मा प्रकाशित ९९६ पटक पढिएको
प्रचण्ड-नेपालको आमहड्ताल : सबै व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने

माघ २१, काठमाडौँ । सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव नेपाल समुहले बिहिबार आमहड्ताल घोषणा गरेको छ।

सरकारले संवैधानिक निकायहरुमा नियुक्त गरेका पदाधिकारीहरुले शपथ खाएसँगै प्रचण्ड नेपाल समूहले त्यसको विरोधमा आमहड्ताल घोषणा गरेको हो। हड्ताललाई सफल बनाउन भन्दै उक्त समूहले राजधानी र देशभरका अन्य जिल्लामा आज बेलुकी मसाल जुलुस निकाल्यो।

यता सरकारले भने आम हड्ताल घोषणा र मसाल जुलुस निकाल्ने कार्य भएको भन्दै सरकारले सुरक्षा व्यवस्थालाई मिलाएको बताएको छ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुरक्षा व्यवस्था मिलाइएको हुँदा आम हड्तालको अवज्ञा गर्दै यातायात, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न आह्वान गरेको हो। मन्त्रालयले कुनै पनि व्यापार, व्यवसायमा बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताएको हो। साथै विरोधका नाममा तोडफोड, आगजनी, सार्वजनिक सवारी आगमनमा अवरोध गर्ने, जबरजस्ती गर्ने कार्यमा संलग्न हुनेहरुलाई कानुन अनुसार कारबाही गर्ने समेत मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस