ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने प्रचण्ड-माधव समूहको चेतावनी

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित १०७८ पटक पढिएको
ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने प्रचण्ड-माधव समूहको चेतावनी

माघ २२, काठमाडौँ । नेकपाको प्रचण्ड(माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार आमहडतालमा सहभागी हुँदै प्रचण्ड(माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, वर्षमान पुन लगायतका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापना गरी प्रतिगमन नसच्याए प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न तेस्रो जनआन्दोलन गर्ने चेतानवी दिएका हुन् ।

आमहडतालमा बोल्दै अध्यक्ष प्रचण्डले संवैधानिक आयोगमा गरिएको बलजफ्ती नियुक्ति नसच्चिए र प्रतिनिधिसभा पुनर्स्थापना नभए फागुन पहिलो साताबाट बृहत् आन्दोलन गरिने चेतावनी दिए । संयुक्त आन्दोलनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज र कलाकार तथा अन्य पेशाकर्मीसँग छलफल भइरहेकाले प्रधानमन्त्री ओलीले आफ्ना कदम नरोके तेस्रो जनआन्दोलन हुने उनको भनाइ थियो ।

राजनीतिक दल नागरिक समाज र कलाकारसहितको संयुक्त आन्दोलनले ओलीको आयु समाप्त पार्ने उनको दाबी थियो । ‘केपी ‌ओलीको प्रतिगमन नसच्चिए फागुनको पहिलो साताबाट संयुक्त रूपमा बृहत् आन्दोलन हुन्छ । त्यो आन्दोलनबाट ओलीको आयु समाप्त हुन्छ,’ उनले भने ।

अहिलेको लडाइँ केपी ओली, प्रचण्ड वा माधव नेपालबीचको नभई लोकतन्त्रवादी र लोकतन्त्र विरोधीबीचमा भइरहेको बुझ्न प्रचण्डले अपिल गरे ।

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओलीको बढ्दो तानाशाही प्रवृत्तिको अन्त्य र उनलाई सत्ताच्यूत गर्न शक्तिशाली आन्दोलनको तयारी भइरहेको बताए । नेपालले ओलीले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिसहित संविधान नै मास्न खोजेकाले आमहडताल गर्न बाध्य भएको बताए ।

ओली नसच्चिए तेस्रो जनआन्दोलन हुने उनको भनाइ थियो । ‘ओलीलाई संघीयतासँग सरोकार छैन । समानुपातिक प्रतिनिधित्वमा गम्भीर छैनन् । संवैधानिक आयोगको नियुक्ति नै गलत छ । यस्ता गलत काम सच्याउन हामी आमहडताल गर्न बाध्य भयौं । अब निरंकुश र तानाशाही प्रवृत्ति धेरै सहने पक्षमा हामी छैनौं । आन्दोलनले तेस्रो जनआन्दोलनको झल्को दिएको छ । हामी निरंकुश र तानशाही बन्दै गएका ओलीलाई आन्दोलनमार्फत नै सडकमा ल्याउनेछौं,’ उनले भने ।

आमहडतालबाट गरिखाने वर्गलाई असुविधा पुगेको प्रति नेपालले क्षमासमेत मागेका छन् । ‘तपाईंहरूलाई पर्न गएको असुविधाप्रति म क्षमा माग्न चाहन्छु । तपाईंहरूको एक दिनको धैर्यताले निरंकुश र तानाशाही शासकलाई खबरदारी पुग्नेछ,’ उनले भने ।

यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्ति बढ्दै गएकाले उनलाई हटाउन ठूलो आन्दोलन आवश्यक रहेको बताइन् । उनलाई नहटाएसम्म अब आफ्नो पार्टीको आन्दोलन जारी रहने र आगामी संघर्ष सशक्त हुने उनको भनाइ छ ।

‘केपी ओलीको प्रतिगमनकारी, तानाशाही र स्वेच्छाचारी हर्कत र रबैयाविरुद्ध कडा आन्दोलन अनिवार्य छ । हामीले देशभरी आमसभा गर्यौं । नागरिक समाज, विभिन्न पार्टीले पनि विरोध गरेका छन् । तर, ओली सरकार असंवैधानिक कदमबाट पछि हट्नेभन्दा झन् आक्रामक भएर निस्कन थालेपछि अब झन् कडा आन्दोलनको विकल्प छैन,’ उनले भनिन् ।

यस्तै स्थायी कमिटी सदस्य पम्फा भुसालले सरकारको प्रतिगमनले संविधान र त्यसका उपलब्धिलाई संकटमा पारेको र संविधान नै मास्न सरकार लागिपरेकाले त्यसलाई बचाउन सशक्त आन्दोलनको विकल्प नभएको बताइन् ।

‘ओली सरकारले प्रतिगमनको गतिलाई बढाएको छ यसलाई रोक्न सकिएन भने हाम्रो संविधान र त्यसका उपलब्धि संकटमा पर्ने निश्चित छ । संविधानलाई जोगाउन सशक्त आन्दोलनको जरुरी छ,’ भुसालले भनिन् ।

अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीले जनतामाथि घात गरेकाले उनलाई हटाउनुको विकल्प नरहेको तर्क गरे ।

‘निरंकुशतातर्फ उन्मुख हुँदै संविधानका उपलब्धि खोस्न ओली अगाडि बढेका छन् उनलाई रोक्नैपर्छ । उनलाई रोकिएन भने हाम्रो संविधान नै संकटमा पर्नेछ । अब ओलीलाई हटाउनुको विकल्प हामीसँग छैन, हटाउने माध्यम भनेकै विशाल जनसमर्थनमा हुने सशक्त आन्दोलन नै हो,’ पुनले भने ।

प्रचण्ड-माधव समूहले काठमाडौंमा २८ माघमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा पुनर्स्थापना नहुने स्थिति देखा परे फागुन पहिलो साताबाट राजनीतिक दल, नागरिक समाज र विभिन्न पेशाकर्मीसँग सहकार्य गर्दै सशक्तरुपमा संयुक्त आन्दोलन गरिने नेताहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस