ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित ७६६ पटक पढिएको
ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

माघ २८, काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

बुधबारको विरोध सभामा बोल्दै अध्यक्ष दाहालले अब पनि ओलीले नबुझे बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले सभा कस्तो हुन्छ हामी देखाउँछौँ भन्नुहुन्थ्यो । केपी जी ! देख्नुभयो सभा कस्तो हुँदो रहेछ ? देख्नुभयो प्रदर्शन कस्तो हुन्छ ? अझै पनि तपाइँले जनतालाई बुझ्नु भएन भने १० लाख जनताले बालुवाटार र सिंहदरबार घेर्नेछन् ।’

बुधबारको उपस्थिति सर्वोच्चका न्यायाधीशहरूले पनि देखेको बताउँदै अध्यक्ष दाहालले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको यो सभाको उपस्थितिले पनि सर्वोच्चलाई निर्णय गर्न सहज भएको छ । यदि जनताको पक्षमा निर्णय भएन भने देशमा आँधि आउँछ, हुरी आउँछ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’

अध्यक्ष दाहालले ओलीलाई अझै पनि जनताले थोरै ठाउँ दिन्छन् भन्दै राजिनामा दिएर पश्चातापको वक्तव्य जारी गर्ने सुझाव समेत दिनुभयो ।


प्रतिक्रिया दिनुहोस