समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन: प्रधानमन्त्री

नौलो समाचार संवाददाता
२०७७ फागुन ३, सोमबार मा प्रकाशित ३८१ पटक पढिएको
समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन: प्रधानमन्त्री

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

भूकम्पले क्षतिग्रस्त भइ पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो ३ वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरूको प्रगति विवरण पेश गर्दै विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफूसँग भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी भित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्याउनुभयो । सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टी भित्रबाट असहयोग हुदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नै खुट्टामा अल्झिए झैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो । झण्डै ३ वर्ष देखि संवैधानिक आयोगहरू पदाधिकारीहरू रिक्त भए, सरकारले संसदमा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदुत नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरूले संसदीय सुनुवाइमा अड्काउँछन्, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संसोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो, सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।’

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरूमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफू हरदम सचेत रहेको, अनेकौं लाञ्छाना सहेरै भए पनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भए पनि आफू सफल हुन नसकेको उहाँको स्वीकारोक्ती छ ।

सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरू उत्रिएको दुःख पूर्ण स्थितिमा सरकार रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्नुपूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफूले लगातार प्रयास गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उहाँले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै सम्भावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उको प्रष्टोक्ती थियो ।

देश अस्थिरतातर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने सम्भावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उहाँले स्पष्ट पार्नुभयो । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुँदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरि जनता माझ जाने निर्णयमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो । आफ्ना सामू अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया दिनुहोस