सर्वोच्चको फैसलापछि राजधानीको ठाउँठाउँमा विजयोत्सव, सुरक्षाकर्मी हाइअर्लटमा

नौलो समाचार संवाददाता
२०७७ फागुन ११, मंगलबार मा प्रकाशित ४६० पटक पढिएको
सर्वोच्चको फैसलापछि राजधानीको ठाउँठाउँमा विजयोत्सव, सुरक्षाकर्मी हाइअर्लटमा

फागुन ११ , काठमाडौं। प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरेको छ। फैसलाको विरुद्धमा विरोध र पक्षमा खुसीयाली मनाउने समूहबिच झडप हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

काठमाडौं उपत्यकाभित्र विषेश सुरक्षा व्यवस्था मिलाइएको छ। ‘कतै झडप वा कुनै घटना नहोस् भनेर हामीले सुरक्षा व्यवस्था त्यहीअनुसार मिलाएका छौं,’ महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

राती नै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा अदालतको फैसलाको स्वागत गर्दै ‍र्‍यालीहरु निस्किएका छन्। अदालतबाट आएको फैसालाले सुरक्षामा तुलनात्मक रुपमा कम चुनैती रहेको प्रहरी अधिकृतहरु बताउँछन्।

‘यदि निर्णय अर्को पक्षकोमा आएको भए झनैं प्रर्दशन र विरोध हुन्थ्यो। अब त्यस्तो विरोधको कार्यक्रम हुँदैन भन्ने लागेको छ,’ एक प्रहरी अधिकृतले सुनाए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस