शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सीसीएमसीको सिफारिस

नौलो समाचार संवाददाता
२०७८ बैशाख ४, शनिबार मा प्रकाशित ७०६ पटक पढिएको
शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख ४, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सिफारिस गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिनुभयो । सिसिएसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको थियो ।
विद्यालय बन्द भए पनि पठनपाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनु पर्नेछ ।

परीक्षाहरू पनि सुचारु हुनुपर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को प्रस्ताव छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको थियो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

यसैबीच बैठकमा स्वास्थ्य सुरक्षाका नयाँ मापदण्डहरू बनाउने विषयमा पनि छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस