बैशाख ६, काठमाडौं। शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको कोभिड- १९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । सरोकारवालाहरूले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका थिए ।
त्यस्तै आजको मन्त्रिपरिषद्ले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भीडभाड हुने क्षेत्रहरू समेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
तर, रंगशालामा भने दर्शकबिना खेल गतिविधि सञ्चालन गर्न पाइने छ ।
स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरी कोरोनाको अति प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई राखेको छ ।
प्रतिक्रिया दिनुहोस