प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहरा उद्घाटन

नौलो समाचार संवाददाता
२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ८४६ पटक पढिएको
प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहरा उद्घाटन

बैशाख ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन्। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार (वैशाख ११) गते लोकतन्त्र दिवसको दिन ओलीले उद्घाटन गरेका हुन्। उनले सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै सम्उद्घाटन गरेका हुन्। ओलीले सम्उद्घाटनको क्रममा ढोकामा राखिएको रिवन काटेर धरहराको २० औं तलामा रहेको बाल्कुनीमा पुगेर पुष्पवृष्टि गरेका थिए।

६ वर्षमा भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको छ। विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ।

एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ। पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ।

तीन तले भूमिगत पार्किङको सुविधा पनि हुनेछ। जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ। भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ। ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ।

कोरोना महामारीका कारण भएको लकडाउनले पुनर्निर्माणमा अवरोध उत्पन्न भए पनि सुरक्षाका सबै उपाय अपनाएर पुनर्निर्माणको कामलाई गति दिइयो। धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाको निर्माण भने जारी नै छ। बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भूँइतलासहित २३ तला हुनेछ। यसरी समग्रमा धरहरा २५ तलाको हुनेछ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२।२५ मिटर हुन्छ। धरहराभित्र २ वटा लिफ्ट हुनेछन्। एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा एवं अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ। साथै फलामको भर्‍याङ पनि रहनेछ। धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ।

२२ औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ स्थापना गरिएको छ। धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्‍याङ’बाट तलमाथि गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस