काठमाडौं उपत्यकासहित देशभरका २२ जिल्लामा आजदेखि निषेधाज्ञा

नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ७९१ पटक पढिएको
काठमाडौं उपत्यकासहित देशभरका २२ जिल्लामा आजदेखि निषेधाज्ञा

बैशाख १६, काठमाडौं। कोरोना भाइरसको संक्रमण बढी देखिएका जिल्लामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी र हिमाली जिल्ला तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं उपत्यका र तराईका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा हुनेछ।

मन्त्रिपरिषदले उक्त जिल्लामा जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक परेमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले संक्रमणको जोखिमका आंकलन गरी निषेधको अवधि बढाउन सकिने, कुनै जिल्लामा संक्रमण बढेमा प्रमुख जिल्ला अधिकारीले २४ घण्टाको पूर्वसूचना दिई उपयुक्त बमोजिम निषेध आदेश जारी गर्न सक्ने निर्णय पनि गरेको छ।

यी हुन् संक्रमित बढी भएका जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन्।

प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा र धनुषा, बागमती प्रदेशको मकवानपुर र काभ्रेपलाञ्चोक, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया र कपिलवस्तुमा दुई सय बढी संक्रमित रहेका छन्।

सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा दुई सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस