पीसीआर पोजिटिभ आए के गर्ने? यस्ता छन् चिकित्सकका सुझाव

नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित ७५२ पटक पढिएको
पीसीआर पोजिटिभ आए के गर्ने? यस्ता छन् चिकित्सकका सुझाव

बैशाख १८। यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर परीक्षण गराउनुपर्छ। यस पटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ। तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला| संक्रमणको शंका लागेमा तुरुन्त परीक्षण गरिहाल्नुहोला। सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।

पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला। यस पटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला। त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्सरे, रगतको परीक्षण तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ। यदि तपाईंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ। उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला।

लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला। यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ। जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ।

गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई फेरि संक्रमण हुनसक्छ| प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ। मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला। अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला।

बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला। यस पटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गएको वर्षको भन्दा धेरै छ।

अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केही बढ्छ। तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला।

अस्पताल ‘प्याक’ छन् भनेर नआत्तिनुहोला। अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन। प्याक भएका अस्पतालले अस्पतालबाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन्।

चिकित्सकको सल्लाह बिना आफैँ अक्सिजन लगाएर घरमा नबस्नुहोला। अक्सिजन उपचार हैन। निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ। अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ।

औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ। एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ। तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला। कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो।

प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्वेद औषधि नखानुहोला। सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला। आयुर्वेद औषधिले कोभिड निको हुँदैन। तपाईंको स्टामिना बढाउँछ। यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ।

यस पटकको संक्रमण निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ। ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ। तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला। निको भएका संक्रमितका कुरा सुन्नुहोला।

कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ। यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन| यस्तो अवस्थामा एक पटक छातीको एक्सरे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ।

अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ। तसर्थ नआत्तिनुहोला।

उपचार पश्चात पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुनसक्छ। चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ।

सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ। कृपया पटक्कै लापरबाही नगर्नुहोला। हामी आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिनको लागि सतर्क बनौँ। सतर्क भएमा हामी अस्पताल जानु पर्दैन।

source: डा. रवीन्द्र पाण्डे, pahilopost.com

प्रतिक्रिया दिनुहोस