नमोबुद्धमा ४० बेडको आइसोलेसन तयार, बिरामीको उपचार सुरु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ७१७ पटक पढिएको
नमोबुद्धमा ४० बेडको आइसोलेसन तयार, बिरामीको उपचार सुरु

बैशाख २४, काभ्रे। नमोबुद्ध नगरपालिका-४ स्थित जनक बहुमुखी क्याम्पसमा ४० बेडको आइसोलेसन केन्द्र तयार भएको छ। नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा मेथिनकोट अस्पतालसँगै रहेको क्याम्पस भवनमा आइसोलेसन केन्द्र स्थापना गरेका हुन्।

उक्त आइसोलेसन केन्द्रमा हाल एकजना बिरामी राखिएको छ । नमोबुद्ध नगरपालिकाकी ६० बर्षीया कोरोना संक्रमित महिलालाई आइसोलेसनमा राखी उपचार अघि बढाइएको हो। मेथिनकोट अस्पतालमा उपचारको क्रममा गरिएको पिसिआर परिक्षणमा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएकी महिलाको अवस्था अहिले सुधारोन्मुख रहेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। सागर जर्घामगरले जानकारी दिएका छन् ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच गत सोमबार संयुक्त आइसोलेसन स्थापनाको सहमति भएको थियो । सहमतिअनुसार आइसोलेसनका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गरी सञ्चालनमा ल्याइएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् । आज शुक्रबार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको टोलीले आइसोलेसन केन्द्रको अनुगमनसमेत गरेको छ । दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको टोलीले सुरक्षा दिनेछ । आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।


प्रतिक्रिया दिनुहोस