अस्पतालमा अक्सिजन नपुग्दा ५ संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २९, बुधबार मा प्रकाशित १२८४ पटक पढिएको
अस्पतालमा अक्सिजन नपुग्दा ५ संक्रमितको मृत्यु

बैशाख २९, बुटवल। कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अक्सिजनको सहायतामा उपचार भइरहेका ती संक्रमितलाई दिइरहेको अक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा शय्यामा रहेका संक्रमितलाई आधा घण्टा अक्सिजन दिन नसकिएको लुम्बिनी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल–११ का २९ वर्षीय पुरुष, वडा नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल–१२ की ५९ वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुष छन् । अक्सिजन नै नपाएर बर्दघाटका ४४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा बुधवार बिहान आउनुपर्ने अक्सिजनको सिलिन्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोही समयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा केहीबेर अगाडि मात्र अक्सिजन सिलिण्डर झरेको छ ।


प्रतिक्रिया दिनुहोस