जेठ १, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा १० दिन थप गरेको छ। कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गए पछी जिल्ला प्रशासन कार्यालयले आज (आइतबार)देखि जेष्ठ २ देखि जेठ १२ गतेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको हो।
निषेधाज्ञाको समयमा खाद्य तथा औषधी उपचार जस्ता अत्यावश्यक बाहेकका काममा हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक तथा निजि सवारी साधन पनि चल्न निषेध गरिएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ।
खाद्यान्न, तरकारी, फलफूल पसलहरु बिहान ६ बजेदेखि १० सम्म मात्र खोल्न पाइने छ।
यस्तै, जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित आदेशमा जनाईएको छ।
सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालय आउने सूचिको आधारमा आवतजावत गर्न दिइने छ ।
प्रतिक्रिया दिनुहोस