पाँचखाल नगरले आफ्नै खर्चमा भ्याक्सिन किन्ने, मन्त्रालयको स्विकृती पाए जेठ भित्र ४० हजार डोज ल्याईने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ९४५ पटक पढिएको
पाँचखाल नगरले आफ्नै खर्चमा भ्याक्सिन किन्ने, मन्त्रालयको स्विकृती पाए जेठ भित्र ४० हजार डोज ल्याईने

जेठ १२, काभ्रे। जिल्लाको पाँचखाल नगरपालिकाले आफ्नै खर्चमा कोभिड–१९ (कोरोना) बिरुद्धको भ्याक्सिन खरिद गर्ने भएको छ। भ्याक्सिन किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृत माग गरेको छ। सरकारले नै कोरोना भाईरस विरूद्धको भ्याक्सिन ल्याउन नसकिरहेका बेला संभवत नेपालमै स्थानीय तहले खोप किन्ने स्वीकृत माग गरेको यो पहिलो हो ।

नगरपालिकाले १८ बर्ष माथिका २० हजार जनालाई आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरेको नगरपालिकाले जनाएको छ। धेरै जसो बृद्ध बृद्धा, सरकार कर्मचारी, स्वास्थ्यकर्मी र बैंकका कर्मचारीले भ्याक्सिन लगाईसक्नु भएको छ, त्यसैलाई आधार मान्ने हो भने १८ देखि २० हजार पाँचखालका दाजुभाई, दिदीबहिनीलाई खोप लगाउनुपर्ने हुन्छ, पहिलो र दोस्रो डोजका लागि ४० हजार खोप ल्याउने निर्णय गरेका हौँ, नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो।

नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको भ्याक्सिनको प्रति डोज कति पर्ने हो त्यो मुल्य पनि खुलाईदिन पनि सरकारसंग अनुरोध गरेको छ।

पछिल्लो समयमा पाँचखालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामको लागि खोप नै भरपर्दो भएकोले आफ्नो नागरिकलाई कोरोना भाईरसबाट सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलको भनाइ छ।

भ्याक्सिनको लागि विभिन्न देशका प्रतिनिधिहरुसँग कुरा भईरहेको जानकारी दिदैं नगरप्रमुख खरेलले मन्त्रालयले अनुमति दिए जेठ महिनाभित्र खोप पाँचखाल आईपुग्ने जानकारी जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस