मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई युवा व्यवसायी लामाको स्वास्थ्य सामग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ९५७ पटक पढिएको
मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई युवा व्यवसायी लामाको स्वास्थ्य सामग्री सहयोग

जेठ १२, काभ्रे। नमोबुद्धका एक युवा व्यवसायीले नगरपालिकास्थित मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नमोबुद्ध नगरपालिका १० का युवा व्यवसायी धावा लामा (टिकावहादुर तामाङ) ले व्यक्तिगत तर्फबाट दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो।

लामाले मंगलबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई पिपिई, एन–९० मास्क, नेबुलाइजर मास्क, भिटामिन सी, सेनिटाइजर, ग्लोब्स, एजिथ्रोमाइसिन सहित अत्यावश्यक औषधीहरु हस्तान्तरण गर्नुभएको हो। मेथिनकोट अस्पतालमा आयोजिक कार्यक्रममा व्यवसायी लामा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्तरुपमा अस्पतालका निमित्त मेडिकल सुलरिटेन्डेन्ट सागर जर्घामगरलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तत्कालका लागि आवश्यकताको रुपमा रहेका औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेकोमा व्यवसायी लामाप्रति आधार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षासमेत रहेको बताउनुभयो। यस्तै मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरले मेथिनकोट अस्पतालले प्रतिकुल अवस्थामा सीमित स्रोतसधानका बाबजुद कोरोना संक्रमण नियन्त्रण र रोकथामको अभियानमा लागिरहेको र यस्तो सहयोगले थप हौसला पुगेको बताउनुभयो।

यस्तै सहयोगी व्यवयासी धावा लामाले जोखिम मोलेरै भएपनि स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको उपचारमा देखाएको तत्परतालाई अझै मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानै भए पनि सहयोग गरेको बताउनुभयो। आगामी दिनमा एन्टीजेन किट, अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री सहयोगका लागि आफू प्रतिवद्ध रहेको पनि उहाले बताउनुभयो। पहिलो चरणमा एक लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लामाले जानकारी दिनुभयो।

यस्तै नमोबुद्ध नगरपालिका ९ मा रहेको दाप्चा स्वास्थ्यचौकीमा व्यवसायी लामाले वडाअध्यक्ष मेलवहादुर लामा र स्वास्थ्यचौकी इन्चार्ज बलराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस