नमोबुद्ध नगर जेठ १९ गतेसम्म ‘शिल’

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ११७४ पटक पढिएको
नमोबुद्ध नगर जेठ १९ गतेसम्म ‘शिल’

जेठ १२, काभ्रे। नमोबुद्ध नगरपालिका क्षेत्र थप एक साताका लागि सिल गरिने भएको छ। आज (वुधबार) जेठ १२ गते रातीदेखि जेठ १९ गते राती १२ बजेसम्म नगरक्षेत्रमा गरिएको सिल कायम रहनेछ।

यसअघि नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जेठ ५ गते बुधबार राती १२ बजेदेखि जेठ १२ गते राती १२ बजेसम्म सिल गरिएको थियो।

नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण फैलदै गएपछि सिलको अवधी लम्ब्याइएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो। यो अवधीमा औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था÷स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दूध तथा दुधजन्य पदार्थ बिक्री गर्ने पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरु सिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ । यद्यपि दूध संकलन केन्द्रहरु भने सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालनासहित बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु सिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने तथा अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरु सिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्रिएको छ ।

निर्माण सामग्रीहरुको ढुवानी गर्ने सवारीसाधनहरु जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख भएको समय अनुसार गर्ने र निर्माण कार्यहरुको हकमा नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन गर्ने तथा फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय÷संस्थाले न्यूनतम कर्मचारी मार्फत नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्यका आधारभूत सुरक्षा मापदण्ड अपनाई तथा पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

यस्तै सूचना विभागबाट जारी भएको प्रेस पास लिनु भएका सञ्चारकर्मी, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयका परिचय–पत्रबाट व्यहोरा खुल्ने कर्मचारी बाहेक अन्य व्यक्तिहरुको हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोहि पनि घर बाहिर ननिस्कने र अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग गर्न रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस