कांग्रेस नेता बस्नेतद्वारा सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा अक्सिजन सिलिण्डरसहित बेड हस्तान्तरण

१ महिनामा १ सय बेड र अक्सिजन वितरण गर्ने लक्ष्य
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित ८५२ पटक पढिएको
कांग्रेस नेता बस्नेतद्वारा सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा अक्सिजन सिलिण्डरसहित बेड हस्तान्तरण

जेठ १३, सिन्धुपाल्चोक। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका तीन वटा अस्पतालमा बेडसहित अक्सिजन उपलब्ध गराउनुभएको छ। नेता बस्नेतले जिल्लाका तीन वटा अस्पतालमा बुधबार बेडसहित अक्सिजन उपलब्ध गराउनुभएको हो।

बस्नेतले जलविरे अस्पताललाई ५ वटा बेड र ४० लिटर अट्ने ५ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको छ। त्यस्तै जिल्ला अस्पताल चौताराका लागी ४० लिटरका १० वटा सिलिण्डर उपलब्ध गराउनुभएको हो। सो अस्पतालको लागी केहि दिनमै सुविधाजनक बेड उपलब्ध गराउने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै नवलपुर अस्पतालमा ५ वटा बेड र ५ वटा अक्सिजनको व्यवस्था गरेको बस्नेतले बताउनुभयो। आज (बिहीबार) हेलम्बु स्वास्थ्य केन्द्र र मेलम्ची अस्पतालमा बेड र अक्सिजन सिलिण्डर उपलब्ध गराउने बस्नेतले जानकारी दिनुभयो।

बस्नेतले जिल्लामा १ महिनामा १ सय बेडको कोभिड उपचार केन्द्र सञ्चालन गर्ने कार्यक्रम अनुरुप आज जिल्लाका तीन स्वास्थ्य संस्थामा बेडसहित अक्सिजनको व्यवस्था गर्नुभएको हो।

यसअघि बस्नेतले मंगलबार नै सिन्धु सदावहार अस्पताल र चाकुमा ३७ वटा अक्सिजनसहितको बेड उपलब्ध गराउनुभएको थियो। बस्नेतले यसअघि जिल्लामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिसक्नु भएको छ।


प्रतिक्रिया दिनुहोस