काभ्रेमा जारी निषेधाज्ञा जेठ अन्तिमसम्म थपियो

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ८३८ पटक पढिएको
काभ्रेमा जारी निषेधाज्ञा जेठ अन्तिमसम्म थपियो

जेठ २१, काभ्रे। काभ्रेमा जारी निषेधाज्ञा अवधि फेरी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म थप गरेको हो।  जिल्लामा कोरोना भाइरसको संक्रमण कायमै रहेकाले निषेधाज्ञा अवधि थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो।

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन भनिएको छ। कोभिड–१९ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी पोखरेलले आग्रह गर्नुभयो ।

सार्वजनिक तथा निजी सवारी साधन बाहेक अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दुरसञ्चार, बैंक, वित्तीय संस्था, ईन्टरनेट, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्ध पदार्थ ढुवानी, कुखुराको दाना, चल्ला र पशुपंछी जन्य पदार्थ, भेटनरी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, मास्क, सेनिटाइजर, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरुमा व्यानर तथा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने छ।

यस्तै खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु र डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र० बिहान ६ बजेदेखि बिहान १० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न सकिने छ।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु कोभिड–१९ स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाईने छ।

जिल्लामा पहिलो निषेधाज्ञा बैशाख १९ गते देखी २६ गते सम्मका लागी गरिएकोमा हाल थपिएको अवधि पाँचौ पटक हो।


प्रतिक्रिया दिनुहोस