जेठ ३१, सर्लाही। जिल्लाको पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवन गरेका आठ जनाको मृत्यु भएको छ।
नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो। उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिनुभयो।
यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाईएको उहाँले बताउनुभयो। उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ।
मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ। यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ।
मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन्।
प्रतिक्रिया दिनुहोस