नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना गरिदै

नौलो समाचार संवाददाता
२०७८ श्रावण २०, बुधबार मा प्रकाशित ४८३ पटक पढिएको
नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना गरिदै

साउन २०, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ ।
नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफलत सुरु भएको छ । सोही क्रममा आज (बुधबार) नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल सम्पन्न भएको छ । छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफू निर्वाचित हुनुअघि नगरबासीसँग गरेको प्रतिवद्धताअनुसार नगरमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको पहल गरिएको बताउनुभयो । उहाँले हिजोमात्रै काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका निर्देशक जमाल उद्दीन अहमदसँगको छलफलमा नगरपालिकाभित्र कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै पशु र कृषिसँग सम्वन्धीत कार्यक्रम संयुक्तरुपमा गर्न सार्कको समेत सहभागिता गराइने बताउनुभयो।

छलफलमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. थापाले पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिका उपयुक्त रहको र नगरमा अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नमोबुद्ध नगरपालिकाले नगरकै वडा नं. ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको पहल अघि बढाइसकेको छ । नगरपालिकाले पशुपालनलाई प्रवद्र्धन गर्न अघिल्लो आर्थिक बर्षदेखि नगरका विभिन्न वडामा उन्नत जातका भैसीका पाडी वितरणको काम सुरु गरिसकेको छ भने यो बर्ष पनि त्यसलाई निरन्तरता दिँदैछ । यस्तै अघिल्लो आर्थिक बर्षबाटै विभिन्न वडामा उन्नत जातका पाठी वितरणको कामसमेत सुरु भइसकेको छ।
नगर प्रमुख तिमल्सिनाले चुनावमा नगरभित्र प्राविधिक विद्यालय स्थापना र प्राविधिक शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएअनुसार नमोबुद्ध नगरपालिका वडा नं. ४ मा रहेको जनक माविमा तिमल्सिना निर्वाचित भएलगत्तै पशु विज्ञान संकायको अध्ययनसमेत सुरु भइसकेको छ । नगर प्रमुख तिमल्सिनाका अनुसार नगरमा उत्पादित दूधको प्रशोधन केन्द्र स्थापना, आधुनिक बधशाला निर्माण लगायतका योजना समेत अघि सारिएको छ ।

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, काठमाडौं विश्वविद्यालयका अन्य अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । काठमाडौं विश्वविद्यालयको टोलीले पशु विज्ञान संकायको अध्ययन भइरहेको जनक माविको अवलोकनसमेत गरेको छ ।
नमोबुद्ध नगरपालिकाको वडा नं. १० मा यसअघि नै स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाको निर्णय भइसकेको छ । नगरपालिकाले जग्गा उपलव्ध गराउने निर्णयगरेसँगै धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस