अशक्त जेष्ट नागरिकलाई भत्ता बाँड्न नमोबुद्धका नगर प्रमुख घरघरमा

नौलो समाचार संवाददाता
२०७८ श्रावण २१, बिहिबार मा प्रकाशित १३४९ पटक पढिएको
अशक्त जेष्ट नागरिकलाई भत्ता बाँड्न नमोबुद्धका नगर प्रमुख घरघरमा

साउन २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। नमोबुद्ध नगरपालिकाले अशक्त जेष्ट नागरिकहरुका लागी अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता घरमै पुगेर भत्ता वितरण गरिरहेको हो ।

नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैं नगरबासीको घरघरमा पुग्न थाल्नुभएको छ।
अभियानलाई सफल बनाउन नगर प्रमुख तिमल्सिना आफैं विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक हुनुभएको हो। नगरका जेष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरुको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको घरघरमा पुगेको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो। अभियानको क्रममा उहाँले जेष्ठ तथा असक्त नागरिकको समस्या बुझ्नै उनीहरुका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासो समेत व्यक्त गर्नुभएको छ। उहाँले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनु भएको छ। उहाँले बिरामी भएर घरमै बसेकाहरुका लागि औषधीसमेत वितरण गर्नुभयो।

नगरप्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले यस बर्ष विशेष कार्यक्रमहरु अघि सारेको पनि बताउनुभयो। कान सुन्न नसक्ने एक सय जनाका लागि आवश्यक मेसिन र एक सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको उल्लेख गर्दै नगर प्रमुख तिमल्सिनाले मोतियाविन्दुको समस्या भएका वृद्ध बाआमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको बताउनुभयो।

नमोबुद्ध नगरपालिकाले अहिले गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो । सम्वन्धीत बैंकका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । यो अभियानअन्तर्गत हालसम्म बैंकसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घरोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिनुभएको छ।

नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० बर्षमाथिका जेष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० बर्षमाथिका दलित जेष्ठ नागरिकको संख्या १ सय २१ रहेको छ ।

यस्तै २ हजार रुपैयाँ मासिक भत्ता पाउने जेष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् । यसैगरी मासिक ३ हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपांगको संख्या ७१, मासिक १६ सय रुपैयाँ पाउने आंशिक अपांगको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ बर्षसम्मका)को संख्या २ सय २७ रहेको छ ।

नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न थालेको हो ।


प्रतिक्रिया दिनुहोस