नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने

१ लाख डोज फाइजर खोप सोमबार आउदै
नौलो समाचार संवाददाता
२०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ७४१ पटक पढिएको
नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने

कात्तिक ६, काठमाडौँ। अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज आउँदो सोमबार ल्याउन लागेको छ ।

युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएको छ । फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशाेरकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन (१ करोड १० लाख) बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।

अमेरिकाकै फाइजर-बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड-१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर-बायोएनटेक कम्पनीले दाबी गरेको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ। उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।


प्रतिक्रिया दिनुहोस