चैत २१, काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन्।
२३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उहाँको भनाइ छ। जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ। सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँका हुने प्रवक्ता पौडेलले बताउनुभयो।
यसअघि आइतबार १ लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो। नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथ अघि बढाएको उहाँको भनाइ छ।
मतपत्र छाप्नका लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ। सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताउनुभयो।
मतपत्र छाप्नका लागि सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ। नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन्।
मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ। नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन्। मतपत्र छपाईको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सीसीक्यामेराको समेत व्यवस्था गरिएको छ। मतपत्र छपाईको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ।
स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। कुल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस