पनौतीमा १२ वर्षे हरिसिद्धि जात्रा, नगरपालिकाले दियो सार्वजनिक बिदा

नौलो समाचार संवाददाता
२०७८ चैत्र २७, आईतबार मा प्रकाशित १२९० पटक पढिएको
पनौतीमा १२ वर्षे हरिसिद्धि जात्रा, नगरपालिकाले दियो सार्वजनिक बिदा

चैत २७, काभ्रे। पनौती नगरपालिकाले हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।

प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत २९ गतेेएक दिन नगरपालिकाको सम्पूर्ण क्षेत्रमा सार्वजनिक बिदा निर्णय भएको नगरपालिकाद्वारा जारी सूचनामा जनाईएको छ।

साठी वर्ष अघिदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन।

पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ।

यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताउनुभयो।

विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ। अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ।

विसं २०६६ मा जात्रा आयोजना गर्न ५ लाख खर्च भएको थियो। यसपटक १६ लाख खर्च हुने अनुमान गरिएको छ।

जात्राका लागि पनौती नगरपालिकाले १५ लाख सहयोग गरेको छ।

चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ। यस्तै वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ।

करिब २ हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ। जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्ने गर्दछ।

पूर्वमा नमोबुद्ध भगवान्, पश्चिममा फूलचोकी माई, उत्तरमा धनेश्वर महादेव र दक्षिणमा नारायणस्थानले घेरिएको पनौती उपत्यका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको नगर हो।

पनौती नगरपालिकाद्वारा जारी सूचना:-

प्रतिक्रिया दिनुहोस