सिजि भिलेजलाई पनौती नगरपालिकाको पत्र: सामुहिक आवास निर्माणको काम तत्काल नरोके कारवाही

नौलो समाचार संवाददाता
२०७९ भाद्र १, बुधबार मा प्रकाशित ८१२ पटक पढिएको
सिजि भिलेजलाई पनौती नगरपालिकाको पत्र: सामुहिक आवास निर्माणको काम तत्काल नरोके कारवाही

भदौ १, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपसीमा सामुहिक आवास निर्माण गरिरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ।

पनौतीको खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक आवास निर्माणको काम जारी राखेपछी निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन पत्र काटिएको हो।

यसअघि नै सम्पूर्ण निर्माण कार्य रोकी नगरपालिकामा सम्पर्कमा आउन गरिएको पत्रको सिजि प्रोपर्टीज प्रा.लि./ नेसनल होल्डीङ्ग प्रा.लि.ले बेवास्ता गरेको र सम्पर्कमा नआएको आदेश पत्रमा उल्लेख गरिएको छ।

पत्रमा पनौती वडा नम्बर-९ को कित्ता नम्बर ५९२ सहित अन्य कित्ताहरुमा पनौती नगरपालिकाको इजाजतबिना घरहरु निर्माण भैरहेकोले तुरुन्त निर्माण कार्य रोकी नगरपालिका कार्यालयमा सम्पर्क राख्न २०७९/४/२ मा नै पत्र पठाई सकिएको उल्लेख गरिएको छ।

निर्माणको काम रोकी तत्काल छानविनको दायरामा नआए नियमानुसार कारवाही गरिने जनाईएको छ।

नक्सा पास विना नै सिजि भिलेजको सामुहिक घरहरु निर्माण भैरहेको विषयमा पहिलो पटक नौलोसमाचार डटकमले समाचार प्रकाशन गरेको थियो भने त्यसको फलोअपका समाचार पटक-पटक गरिरहेको छ।

नक्सा पास विना नै धमाधम घरहरु निर्माण भैरहेको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशमा आएपछि नगरप्रमुख भण्डारीले आफुले कम्पनीसंग विधि र नियम अनुरुप अगाडी बढ्न पटक-पटक ध्यानाकर्षण गराएको बताउनुभयो। उहाँले कानुनलाई व्यवास्था गरि घरहरु निर्माण भईरहेकाले कानुनका बाटोहरु अबलम्बन गर्नुको विकल्प नहुने पनि बताउनुभएको छ।

स्थानिय बासिहरुको भनाई अनुसार यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ सबै साढे दुई तल्ले एकैनासको घर निर्माण हुने बताइएको छ। उनिहरुको भनाई अनुसार अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ। २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको छ। २०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको भन्दै स्थानीय बासिहरुले गत साउनदेखि निर्माण कार्य शुरु गरिएको बताएका छन्।

पनौती नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तलेजु गुठीको नाममा रहेको कित्ता नं ५८४ को २ रोपनी ६ आना १ पैश २ दाम जग्गाको मोहिमा त्रिशक्ति सिमेन्ट प्रा.लि. नाम कायम गर्न पनि निवेदन परेको छ। यो जग्गा पनि सामुहिक आवास निर्माण भैरहेको क्षेत्रमा रहेको अनुमान गरिएको छ। यस बारेमा पनि वडा कार्यालयले बुझरहेको वडा अध्यक्ष हुमागाईले बताउनु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस