एक वर्षमा थुनामुक्त भए पल शाह

नौलो समाचार संवाददाता
२०७९ फागुन १४, आईतबार मा प्रकाशित ३४६ पटक पढिएको

एक वर्षमा थुनामुक्त भए पल शाह

फागुन १५ दमौली। बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्।

नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन्।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । कागजी प्रक्रिया पूरा गरेर पल रिहा भएका हुन् । पललाई रिहा गर्न बहिनी रोशनीले कागजमा हस्ताक्षर गरेकी थिइन् ।

उनलाई स्वागत गर्न संगीतकार योगेशकाजीसहित केही फिल्मकर्मी कारागार पुगेका थिए । उनी रिहा भएको हेर्न तनहुँ कारागारबाहिर सर्वसाधारणको भीड लागेको छ । कपाल छोटो बनाएको र कालो ज्याकेटमा बाहिर निस्कँदा फ्यानले पलको पक्षमा नाराबाजी समेत गरेका थिए ।

पल आज पोखरा पुगेर जहाज हुँदै काठमाडौं आउनेछन् । उनलाई त्रिभुवन विमानस्थलमा उनी निकट फिल्मकर्मीले स्वागत गर्ने तयारी गरिरहेका छन् ।

समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएकाले शाह सोमबार रिहा भएका हुन्।


प्रतिक्रिया दिनुहोस