इजरायलमा नेपालीको मृत्युको कारण मुलुकभर शोक, बनेपा नगरपालिकामा हर्षोलास

नौलो समाचार संवाददाता
२०८० आश्विन २३, मंगलबार मा प्रकाशित ९७० पटक पढिएको
इजरायलमा नेपालीको मृत्युको कारण मुलुकभर शोक, बनेपा नगरपालिकामा हर्षोलास

बनेपा / अध्ययनको क्रममा इजरालयमा रहेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा परेर निधन भएर देश शोकमा छ । संघीय सरकारले मंगलबार शोक मनाउने तथा आधा झण्डा झुकाउने निर्णय समेत गरेको थियो । काठमाडौं विश्वविद्यालयको एक कार्यक्रममा आउने तयारी गरेका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा तथा विज्ञान प्रविधीमन्त्री अशोककुमार राईले समेत मुलुक शोकमा रहेका कारण औपचारिक कार्यक्रम स्थगित गरेका थिए । तर मुलुक नै शोकमा रहेको बेला बनेपा नगरपालिकाले भने हर्षोल्लासका साथ कार्यक्रम गरेको छ ।

बनेपा नगरभित्रका सहकारी संस्थाको अनुगमन प्रतिवेदन बुझाउने कार्यक्रम उसले तामझामका साथ गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्व र संस्थालाई टिका, खादा, सम्मानपत्र सहित सम्मान गरिएको हो । जिल्ला सहकारी संघ काभ्रेले अनुगमनको ठेक्का पाएको थियो । प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा नै अनुगमनको क्रममा उल्लेखनीय सहयोग गर्ने संघसंस्था र व्यक्ति भन्दै सम्मान गरिएको हो । छानविन गर्ने निकायले छानविनमा सघाउनेलाई सम्मान गरेको सम्भवत यो पहिलो घटना हो ।

नगर प्रमुख शान्तीरत्न शाक्यले सार्वजनिक विदा नभएकाले कार्यक्रम आयोजना गरिएको बताए । ‘सार्वजनिक विदा होइन भन्यो त्यसकारणले कार्यक्रम गरेका हौं,’ उनले नौलोसमाचारसंग भने, ‘विदा होइन, शोक मात्रै हो भनेकाले कार्यक्रम गर्यौं, गर्न मिल्ने हो की होइन थाहा भएन तर कार्यक्रम चाही भयो ।’

कार्यक्रमका प्रमुख अतिथी बोलाइएका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सहकारी सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न भनेर बोलाइएको कार्यक्रममा सम्मान पनि गरिएको प्रतिकृया दिए । ‘सहकारीको प्रतिवेदन सार्वजनिक गर्न भनेर बोलाइएको थियो, पछि त्यहाँ सम्मान लगायतका औपचारिक कार्यक्रम पनि रहेछ,’ प्रमुख गौतमले टेलिफोनमा भने, ‘मुलुक शोकमा भएको बेला यस्तो कार्यक्रम नगर्दा निकै राम्रो हुन्थ्यो, कार्यक्रम गर्ने भनेर मलाई बोलाइसकेपछि मैले शोक छ, सम्मान गर्दिन भन्न सकिन ।’


प्रतिक्रिया दिनुहोस