मेथिनकोट अस्पतालमा अब सिटी स्क्यान सेवा

नौलो समाचार संवाददाता
२०८० आश्विन २३, मंगलबार मा प्रकाशित १००२ पटक पढिएको

मेथिनकोट अस्पतालमा अब सिटी स्क्यान सेवा

भकुण्डेवेशी/ नमोबुद्ध–४ मा रहेको मेथिनकोट अस्पतालमा अब सिटी स्क्यान सेवा उपलव्ध हुने भएको छ । कान्ति बाल अस्पतालले मेथिनकोटलाई मेसिन उपलव्ध गराएपछि छिट्टै सेवा सञ्चालन हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिए । उनका अनुसार, अस्पतालमा उपलव्ध जनशक्तिलाई तत्काल तालिम व्यवस्था गरेर सेवा सञ्चालनमा ल्याइनेछ ।

मंगलबार नगर प्रमुख कुनसाङ लामा, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद खनालको उपस्थितीमा कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहाललाई सामाग्री हस्तान्तरण गरेका थिए ।

मेथिनकोट अस्पतालले सिटी स्क्यान मेसिन ल्याउने पहल गरिदिन नमोबुद्ध नगरपालिकालाई पत्राचार गरेको थियो । नगर कार्यपालिका वैठकले स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पतालाई अनुरोध गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो ।

मेथिनकोट अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । हालै मृगौलाको डाइलासिस सेवा शुरु गरेको छ भने शल्यक्रिया सेवा पनि शूरु भएको छ । सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले श्रोतको अभाव खेपिरहेको छ ।

प्रतिक्रिया दिनुहोस