शिक्षामन्त्री सहभागी कार्यक्रममा सिटिइभिटीका कर्मचारीले गरे विरोध प्रदर्शन

नौलो समाचार संवाददाता
२०८० आश्विन २४, बुधबार मा प्रकाशित ६३२ पटक पढिएको
शिक्षामन्त्री सहभागी कार्यक्रममा सिटिइभिटीका कर्मचारीले गरे विरोध प्रदर्शन

बनेपा / शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राई सहभागी कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिइभिटीका) का प्रशिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । मन्त्री राई सहभागी भएको सिटिइभिटीले नै आयोजना गरेको ४१ औं व्यवस्थापन समिक्षा गोष्ठीमा सिटिइभिटी अन्तर्गतका शिक्षालयमा कार्यरत प्रशिक्षकहरु आफूहरुलाई विभेद भएको भन्दै कार्यक्रमस्थल बाहिर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

करारमा कार्यरत उनीहरुलाई कुनै प्रकृयामार्फत स्थायी गरिनुपर्ने,कटौती गरिएको महंगी भत्ता लगायतका सुविधा दिनुपर्ने, स्थायी र करार कर्मचारीविचको विभेद अन्त्य हुुनुपर्ने लगायतका माग राखेर आन्दोलित हुनुपरेको सिटिइभिटी करार संघर्ष समितिका संयोजक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । बनेपा प्राविधिक महाविद्यालयमा कार्यरत प्रशिक्षक दिनेश हुमागाईले दुई तीन पटक शिक्षामन्त्रीलाई नै भेटेर माग बारे जानकारी गराएपनि कार्यान्वयन नभएपछि विरोध गर्न बाध्य भएको बताए । उनले मन्त्रालयबाट गठित १५ दिने कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे ।

प्रदर्शन गर्दा मन्त्रीको ‘अपमान’ भएको भन्दै सिटिइभिटीका निर्देशकहरुले प्रशिक्षकहरुलाई धम्कीपूर्ण अनुरोध गरेका थिए । ‘मन्त्रीका अगाडी यो कार्यक्रम गर्न तपाईहरुलाई लाज लाग्दैन, आफ्ना कुरा राख्ने यो उपयुक्त कार्यक्रम हो र, आन्दोलन नै गर्ने भए माइतीघरमा गएर बस्नुस्’ निर्देशक दिपक पौडेलले भनेका थिए, ‘विनियम बनाएर काम अघि बढिरहेको छ, शिक्षा विद्येयकले पनि धेरै कुरा समेटेको छ ।’ संघर्ष समितिका अनुसार सिटिइभिटीका ६५ शिक्षालयमा कार्यरत १ हजार ८ सय करारका कर्मचारी विभेदमा छन् ।


प्रतिक्रिया दिनुहोस