सम्बन्धनको नाममा कसैलाई अल्मल्याउन हुँदैन : शिक्षामन्त्री राई

नौलो समाचार संवाददाता
२०८० आश्विन २४, बुधबार मा प्रकाशित १७८ पटक पढिएको
सम्बन्धनको नाममा कसैलाई अल्मल्याउन हुँदैन : शिक्षामन्त्री राई

बनेपा/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले सम्बन्धन बाँड्ने नाममा कसैलाई पनि अल्मल्याउ नहुने तर्क गरेका छन् ।

सीटीइभीटीको ४१ औँ व्यवस्थापन समीक्षा गोष्ठीमा बोल्दै मन्त्रीलाई सक्ने वा नसक्ने तत्काल टुंगो लगाउनुपर्ने बताए । ‘सम्बन्धनका लागि लाग्ने दस्तुर समेत बुझाएर मानिसहरु २०६४ सालदेखि कुरेर बसेका छन्, के यही न्याय हो र?’ उनले भने, ‘यसरी झुण्ड्याएर राख्नुहुँदैन, सक्ने वा नसक्ने टुंग्याउनुपर्छ ।’ उनले सम्बन्ध बाड्ने काम नै सीटीइभिटीको नभएको तर्क गरे । दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गरेर सीटीइभीटीले मुलुकलाई उपलव्धी दिएको तर्क गर्दै उनले यो भन्दा महत्वपूर्ण जिम्मेवारी लिएर अघि बढ्नुपर्ने बताए ।

सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले परिषद्का सम्बन्धन दिने काम पेचिलो रहेको बताउँदै यसले समय–समयमा विवादित बनाउने गरेको गुनासो गरे । राष्ट्रिय योजना आयोगका सदस्य उमेशचन्द्र पौडेलले प्राविधिक शिक्षालयले पूर्वाधार सुहाउँदो काम गर्न नसकेको, शिक्षालयले स्थानीय मागको आधारमा कार्यक्रम अघि बढाउन नसकेको, उत्पादनलाई बजारसँग जोड्न नसकेको बताए । कार्यक्रममा परिषद्का निमित्त सदस्य–सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतले प्राविधिक तथा व्यवसायिक शिक्षको बारेमा चर्चा गरेका थिए ।

३ दिन चल्ने गोष्ठीमा सीटीइभीटीका निर्देशक, सात प्रदेश प्रमुख, ६५ शिक्षालयका प्रमुखहरु सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस