भकुण्डेवेशी \ यो कुनै विज्ञापन हैन, वास्तविकता हो । वत्ती र फूलहरुको पर्व तिहारलाई मालाको खोजीमा हुनुहुन्छ भने तपाई नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालय पुग्न सक्नुहुन्छ । जनक मावि तपाईको लागि उपयुक्त विकल्प हुन सक्छ भने विद्यार्थी र विद्यालयको लागि आम्दानीको श्रोत ।
‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत विद्यार्थीले करिब २ रोपनी क्षेत्रफलमा सयपत्री फूलका १५ सय बोट रोपेका छन् । तिनै बोटमा सयपत्री ढकमक्क फूलेका छन् ।
‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत नै विद्यार्थीहरुलाई सहभागी गराएर फूलखेती गरिएको विद्यालय संयोजक हरिहर अधिकारीले जानकारी दिए । उनका अनुसार, तिहार लक्षित गरेर विक्री गर्ने तयारी छ । ‘केहीले सम्पर्क समेत गरिसक्नुभएको छ, फूल मात्रै र माला समेत बनाएर विक्री गर्ने योजनामा छौं,’ अधिकारीले भने, ‘सिजनमा प्रति माला १ सय र फूल प्रतिकेजी ३ सय सम्म विक्री गर्ने लक्ष्य छ ।’
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू छ । विद्यालय संयोजक अधिकारीका अनुसार, कार्यक्रम अन्तर्गत बाख्रापालन, मौरीपालन, अदुवाखेती, कुखुरापालन गरिएको छ । २२ वटा बाख्रा पाल्नको लागि विद्याथीलाई पठाइएको छ भने १३ वटा बाख्रा विद्यालयको फार्ममा छ । ४५ वटा लोकल कुखुरा छन् । ६ सय बोइलर कुखुरा, गाई, भैंसी पाल्ने गरी पूर्वाधार तयार गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस