काभ्रेका स्थानीय तहको क्षेत्रगत समिक्षा हुँदै, ५ स्थानीय तहमा सकियो

नौलो समाचार संवाददाता
२०८० कार्तिक १९, आईतबार मा प्रकाशित ९०२ पटक पढिएको
काभ्रेका स्थानीय तहको क्षेत्रगत समिक्षा हुँदै, ५ स्थानीय तहमा सकियो

पाँचखाल \ काभ्रे जिल्लाका स्थानीय तहहरुको त्रैमासिक समिक्षा क्षेत्रगत रुपमा गरिएको छ । विभिन्न ६ क्षेत्र (कल्ष्टर) मा विभाजन गरेर जिल्ला समन्वय समितिले ती स्थानीय तहको चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको समिक्षा गराएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमका अनुसार, नमोबुद्ध नगरपालिका, तेमाल र रोशी गाउँपालिकालाई एक कल्ष्टर बनाएर नमोबुद्धमा, पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको त्रैमासिक समिक्षा पाँचखाल नगरपालिकामा सम्पन्न भएको छ । बनेपा र धुलिखेल नगरपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिका, महाभारत र खानीखोला गाउँपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिकाको छुट्टाछुट्टै कल्ष्टर बनाएर त्रैमासिक समिक्षा गरिने उनले जानकारी दिए । एउटा क्षेत्रमा प्रतिनिधी सभा वा प्रदेश सभाका सदस्यको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

आइतबार पाँचखालमा मण्डनदेउपुर र पाँचखाल नगरपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले जनतासंग प्रत्यक्ष जोडिने सरकार स्थानीय तह नै भएको भन्दै स्थानीय सरकारले नतिजा दिन नसके व्यवस्था नै असफल हुने खतरा औंल्याए । सबै बेरुजू भ्रष्टाचार नहुने भन्दै उनले बेरुजू फच्र्यौट गर्नतर्फ भने तदारुकता दिनुपर्ने बताए । संविधान सभा सदस्य समेत रहेका वादेले संविधान निर्माण गर्ने बेला जिल्ला समन्वय समितिको औचित्यमाथि ठूलो बहस भएपनि कामले त्यसको औचित्य पुष्टी गर्ने बताए ।

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले विकास निर्माणका काम गर्दा कागजपत्र र प्रकृयामा केही त्रुटी भएर देखिएको बेरुजू भएको तर्क गर्दै कुनै पनि जनप्रतिनिधी र कर्मचारीको नाममा बेरुजू नभएको दाबी गरे । फोनका भरमा अख्तियारमा उजुरी दर्ता हुने गरेको भन्दै उनले अख्तियार, महालेखा परिक्षकको कार्यालय आदिको सुझावकै आधारमा उपभोक्ता समिति, टोल विकास समितिमार्फत भन्दा पनि ठेक्कामार्फत काम गरिरहेको तर्क गरे ।

पाँचखाल नगर प्रमुख महेश खरेलले व्यवसायीबाट भुक्तानी लिनुपर्ने रकम पाँचखालमा बेरुजु देखिएको भन्दै पाँचखाल कम बेरुजु भएको स्थानीय तह मध्ये पर्ने बताए । महालेखाका कर्मचारी नै असुली धन्दामा रहने बताउँदै उनले ‘रक्सीको कलर, भालेको सिउर र सुत्ने ठाउँ र खाम’ले बेरुजूको अंक निर्धारण गर्ने बताए ।

पाँचखाल नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रथम त्रैमासिक अवधीको आन्तरिक आयतर्फको ७८ दशमलव ९४ प्रतिशत लक्ष्य हासिल गरेको बताए । उनले तहगत कानूनी अन्यौलता, घाटा बजेट, साँघुरो आन्तरिक आय, वडाहरुको भौगोलिक दुरी समस्याको रुपमा रहेको बताए ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कुल आन्तरिक आयतर्फको ५ दशमलव ३४ प्रतिशत लक्ष्य हासिल गरेको बताए ।


प्रतिक्रिया दिनुहोस