नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

नौलो समाचार संवाददाता
२०८० मंसिर १४, बिहिबार मा प्रकाशित २२२ पटक पढिएको
नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

बनेपा \ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आगामी पुस ७ गते पहिलो प्रदेश सम्मेलन काठमाडौंमा गर्ने भएको छ ।

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । उनका अनुसार, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी सदस्यहरु, जिल्ला सभापतिहरु, सबै प्रदेश क्षेत्रीय कार्यसमितिका सभापतिहरु र कार्यसमितिका तर्फबाट समावेशिताका आधारमा ८ जना सम्मेलनमा सहभागी हुनेछन् ।

बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ ।

राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकमा उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहसंयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।

बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना ब्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकि अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमित सिं कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयमसेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको र संयोजकहरुले आवश्यक्ता अनुसार प्रदेश कार्यालयमा जानकारी दिई सदस्यहरु थप्न सक्ने प्रवक्ता रुवालीले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेश सभापतिहरुको समुपस्थितिमा सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस